२०८१ भाद्र २५ गते मङ्गलवार | 2024 September 10th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस बदल्न महामन्त्री पद त्याग गर्न तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताउनु भएको छ। उहाँले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उहाँले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताउनुभयो।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गर्नुभयो।

महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा नेता ५, ६ पटक प्रधानमन्त्री भएको छ। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी जमेको पोखरी जस्तै भए। कुनै व्यक्तिको दोष होइन। तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। म उमेरको पनि कुरा गर्दिन। कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ। हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं। उमेर पनि होइन। त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा छ। प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ।’’

उहाँले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्नुभयो। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उहाँको भनाइ थियो। महामन्त्री थापाले भन्नुभयो, ‘‘नेपाली कांग्रेसले आत्मनिन्दा गरेर पनि हुँदैन। अहंकार पालेर पनि हुँदैन। कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो। आफ्नो बारेमा समीक्षा गर्नुपर्छ। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्नसक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’’

महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्ने बताउनुभयो। उहाँले गठबन्धन सरकार परिवर्तन हुनसक्ने भए पनि कांग्रेसले शर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताउनुभयो।

 

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस