२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुटवल-नारायणगढ सडक निर्माण सुस्त

कावासोती । बुटवल-नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम नहुँदा सडक निर्माणको समय अझै थप हुने अवस्थामा छ । सो आयोजनाको प्रगति हालसम्म ३८ प्रतिशत छ भने वर्षातका बेला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको आयोजनाले जनाएको हो ।

गतवर्ष तीन सय ६५ दिन ठेक्का थपिएको अवधि साउन २२ सम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्का गरी प्रगति झन्डै ३८ प्रतिशत रहेको आयोजनका इन्जिनियर राकेश झाले बताउनुुभयो । अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । झन्डै आठ किलोमिटर सडकमा एक तहको कालोपत्र र दुुई किलोमिटर दोहोरो कालोपत्रे सकिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुुसार अहिलेसम्म एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र गरिएको छ भने अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ । केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पूर्वी खण्डको प्रगति दुुई दशमलव ४५ प्रतिशत रहेको इन्जिनियर झाले बताउनुुभयो । अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशतमात्रै काम भइरहेको छ ।

बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको आयोजनाले जनाएको छ । बुटवाल-नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ भने सो खण्डमा भौतिक प्रगति ३८ प्रतिशत छ ।

निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता धिरज ढकालले बताउनुुभयो । “अहिले पनि कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ”, उहाँले भन्नुभयो । तीन महिना यता निर्माणको गति बढेको र कालोपत्रे भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ । काम गरिरहेको भएपनि अझै पनि पर्याप्त देखिँदैन । निर्माण कम्पनी आफैँले लिएको लक्ष्य अनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको झाले बताउनुुभयो ।

पछिल्लो पटक थपिएको अवधि आगामी साउन २२ मा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ । अहिले यो सडकको लागि एक वर्ष पुुनः म्याद थपिएको आयोजनाले जनाएको छ ।

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने सात सय कामदार कार्यरत छन् । त्यति हुँदाहुँदै अझै आशा गरिए अनुसार निर्माण अघि बढ्न नसकेको झाले बताउनुभयो । निर्माणस्थलमा अझै विद्युतको पोल सार्न बाँकी छ । आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी छ ।

इन्जिनियर धिरज ढकालले दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको र गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने बताउनुुभयो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको हो ।

वि.सं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो भने एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई ठेक्का दिइएको थियो । गत वर्ष अवधि सकिएपछि पुन एक वर्षका लागि थपिएको छ ।

 

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस