२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बचतकर्ताको १४ अर्ब ठग्ने शिव शिखर सहकारीका अध्यक्षमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान सुरु

काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ ।

‘सहकारीमा वचतकर्ताको रकम ठगेको भनेर परेको उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ’, विभागका महानिर्देशक तारानाथ अधिकारीले भन्नुभयो, ‘उनी आवद्ध रहेको कम्पनी र उनको समेत चलअचल सम्पत्ति रोक्का राखेर अनुसन्धान सुरु गरिएको छ ।’

विभागका अनुसार नेपालगञ्जसम्म सहकारी र त्यसका शाखा खोलेका उनले ती ठाउँमा सम्पत्ति जोडेको भेटिएको छ । सम्पत्ति खोज्ने क्रममा उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको प्रवक्ता मैनालीले बताउनुभयो । विभागले साउनको दोस्रो सातादेखि शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको छ ।

शर्माले विभिन्न ११ वटा कम्पनीमा लगानी गरेको खुलेको छ । जग्गा, कम्पनीको खातादेखि शेयरसमेत रोक्का भएको छ । जग्गामात्रै करिब १०–१२ विगाहा रहेको खुलेको छ । उनले आफ्नो नाममा जोडेको सम्पत्तिको अहिलेसम्म प्रारम्भिक मूल्यांकन नभए पनि उनले ठगी गरेको रकमको हाराहारी सम्पत्ति विभिन्न ठाउँमा राखेको भेटिएको विभागका एक कर्मचारीले बताउनुभयो ।

सुरुमा तुलसी सहकारीको रकम हिनामिना गरेको भनी पाएको सूचनाका आधारमा अनुसन्धान बढाएको विभागले पछि उनी आवद्ध अरु सहकारीको रकम समेत हिनामिना भएको भेटेको हो । २०७७ सालमा भक्तपुरमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो । सहकारीको रकम हिनामिना गरेपछि उनी सम्पर्कविहीन भएका थिए । बचत गरेको रकम डुब्ने भएपछि बचतकर्ताहरुले प्रहरी र सहकारी विभागमा उजुरी गरेका थिए ।

 

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस