२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले प्रधानमन्त्री बनाएको प्रचण्डकै मुखबाट खुस्कियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै मुखबाट उहाँलाई भारतले प्रधानमन्त्री बनाएको कुरा खुस्किएको छ । उहाँकै मुखबाट यो कुरा खुस्किएको हो । उहाँले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक भारत गएको खुलाउनुभयो । सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदानको प्रशंसा गर्ने क्रममा प्रचण्डले यस्तो खुलाउनुभएको हो ।

सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गर्नुभयो ।

‘उहाँको योगदान ट्रान्सपोर्टमा मात्रै सीमित छैन, उहाँले समाजका अरु क्षेत्रमा पनि योगदान गर्नुभएको छ’, प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भन्नुभयो, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैंले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रीतम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उहाँको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंहले राजनीतिमा पनि रुचि राख्ने भन्दै आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको खुलासा समेत गर्नुभयो ।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ’ प्रचण्डले भन्नुभयो ।

शान्ति प्रक्रिया सुरु भएपछि पम्फा भूसालसँग सिंहको सम्पर्क भएको, आफूले त्यसै बेला सिंहलाई चिन्न पाएको प्रचण्डले सम्झिनुभयो । ‘हामीले एक अर्कालाई चिन्ने बुझ्ने मौका पायौं, मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ’, उहाँले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो । सिंहले जम्मुबाट नेपालमा थुप्रै ट्रक तथा मजदुर ल्याएर यातायात क्षेत्रमा योगदान दिएको प्रचण्डको बुझाई थियो ।

 

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस