२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिसाङ खोलामा तटबन्ध निर्माण गर्न मन्त्री र सर्वसाधारणको सहभागिता

उर्लाबारी । मोरङको लेटाङ नगरपालिकालाई सबैभन्दा बढी दुःख दिने चिसाङ खोलामा श्रमदानबाट तटबन्ध निर्माण गर्न सुरु गरिएको छ । मङ्गलबार लेटाङ वडा नम्बर २ को आह्वानमा चिसाङ खोलाको पश्चिमतर्फ लेटाङ वडा नम्बर १ र २ को सीमानामा पर्ने लोखरा, चिसाङ गंगाघाट क्षेत्रबाट खोलामा तटबन्ध निर्माण गर्न सुरु गरिएको हो ।

खोलाले किनारमा कटान गरी बस्तीतिर पस्न थालेपछि वडा कार्यलयले स्थानीय बासिन्दासँग श्रमदान गर्न अनुरोध गरेको थियो । श्रमदानको पहिलो दिन लाफा टोल र किराँत टोलका तीन सय जनाले जनश्रमदान गरेका छन् ।

मङ्गलबार नै आफ्नो गृहनगर लेटाङ पुग्नु भएका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने र वडाध्यक्ष तेजप्रसाद तिम्सिनालगायतले पनि श्रमदान गर्नुभयो ।

असार २४ गतेसम्म दैनिक ११ देखि ४ बजेसम्म वडाका दुई/दुई वटा टोल विकास समितिले श्रमदान गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले जनाकारी दिनुभयो ।

लेटाङ नगरपालिकाले दुई सय थान जाली उपलब्ध गराएपछि वडा कार्यालयले श्रमदानबाट पहिलो चरणमा सबैभन्दा जोखिम स्थानमा तटबन्ध निर्माण गर्न लागेको वडाध्यक्ष तिम्सिनाले बताउनुभयो । बर्सेनि बाढी पस्ने अति जोखिम क्षेत्रमध्ये चार सय मिटर खण्डमा तटबन्ध निर्माण गरिनेछ । जसका लागि वडा नं.२ का १२ वटा टोल विकास संस्थाले ६ दिन श्रमदान गर्नेछन् ।

चिसाङ खोला पस्दा लेटाङ १ को लोखरा, लेटाङ २ र ३, केराबारी ९ तथा बेलबारीका १, २ र ३ का करिब २५ हजारभन्दा बढी बासिन्दा प्रभावित हुँदै आएका छन् । विसं. २०४५ तिर लगाइएको तटबन्ध पाँच वर्षअघि खोलाले बगाएपछि सो क्षेत्रका बासिन्दा त्रासपूर्ण रुपमा बस्दै आएका छन् ।

यसैबीच, जनश्रमदान कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग श्रेष्ठले पहिलो दिनको खाजाको प्रबन्ध गर्नुभयो । तटबन्ध निर्माण गर्ने कार्यक्रम आगामी २४ गतेसम्म रहनेछ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस