
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई–दुई पटक विश्वासको मत दिएकामा लाज लागेको बताउनुभएको छ ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रतिनिधिसभामा आफूहरुको मतले प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कोही व्यक्ति पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिँदा लाज लागेको बताउनुभएको हो ।
‘मलाई लाज लागिरहेको छ, मैले कस्तो व्यक्तिलाई मत दिएको रहेछु, त्यो पनि दुई–दुई पटक । जसले भावनामा बगेर यस्तरी बोल्नुहुन्छ कि म को भएर बोल्दैछु, सम्माननीय प्रधानमन्त्री भएर मैले कसरी बोल्ने, के बोल्ने, के नबोल्ने भन्ने बिर्सनुहुँदो रहेछ’ सांसद झाले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार भारतीय नागरिक सरदार प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको थियो ।