२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टेकुका मेडिकल ल्याब टेक्नोलाेजिस्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आयोगका प्रवक्ता भोला दाहालले आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्षविरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस