२०८१ साउन ९ गते बुधवार | 2024 July 24th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने

काठमाडौँ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ । वि.सं. २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै काम गरिने रेल विभागले जनाएको छ ।

आगामी आर्थिक वर्ष कुनै नयाँ ठेक्का सम्झौता नगरेर चालु ठेक्कालाई पूरा गरिने विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताउनुभयो । बर्दिबासमा ६९ किमीसम्म काम भइरहेकामा त्यो खण्ड पूरा गर्न आगामी वर्षको बजेटमा पनि रकम विनियोजन भएको छ । उहाँले भन्नुभयो, “अहिले भइरहेको कामलाई निरन्तरता दिइन्छ ।”

अहिले काम भइरहेको खण्ड बाहेक नयाँ खण्डमा काम गर्न आगामी वर्षको बजेटमा व्यवस्था गरिएको छैन । चालु ठेक्काबाटै सम्पन्न हुन बाँकी कामलाई पूरा गरिने आयोजनाले जनाएको छ । अहिले झण्डै १३ ठेक्का निर्माणाधीन छन् । तीमध्ये अधिकांश वि.सं. २०७४ का ठेक्का रहेको महानिर्देशक बिसुरालले बताउनुभयो ।

त्यसको अपूरो एक/दुई वटा साना ठेक्का गतवर्ष लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै केही त २०७०/७१ को ठेक्का पनि सम्पन्न गर्नुपर्ने छ ।” अहिले सो आयोजनामा ट्र्याक बेडको काम र पुलको काम भइरहेको आयोजनाले जनाएको छ । ट्र्याक बेड निर्माण भइरहेको र पुल सम्पन्न हुन लागेको उहाँले बताउनुभयो । बागमती नदीमा सर्लाही र रौतहट जोड्ने पुलमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन ठेक्कामध्ये पनि खासगरी वन क्षेत्रका कारण समस्या आएकामा बाँकी रहेको उहाँले बताउनुभयो । दुई/तीन ठाउँमा जङ्गल कटानको सहमति नआउँदा ढिला भएको छ । अहिले निर्माणाधीन ६९ किमी रेलमार्गको सुरुवात झण्डै एक दशक पहिले भएको थियो । केही वर्षयता नयाँ ठेक्कामार्फत रेलमार्ग विस्तारभन्दा पहिलेको ठेक्का सम्पन्न गराउने गरी बजेट विनियोजन भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्सेनि चालु ठेक्काका लागि रकम छुट्ट्याइएको छ ।” अहिले काम भएको स्थानमा रेल्वे लाइन बिरक्त्याउनुपर्ने, स्टेसनका लागि भवन बनाउने, विद्युतीय प्रणाली जडान गर्नेलगायतका काम गर्नुपर्ने महानिर्देशक बिसुरालले बताउनुभयो । त्यसपछि रेल गाडी ल्याएर चलाउन सकिने उहाँ बताउनुहुन्छ ।

सरकारले आर्थिक अभावका कारण धेरै आयोजनामा चालु ठेक्का पूरा गर्ने तर नयाँ ठेक्का नगर्ने गरी बजेट विनियोजन गरेको छ । यो आयोजनामा पनि त्यही लागु भएको छ । रेल विकासतर्फ पूर्व–पश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माणलाई निरन्तरता दिइने तथा वीरगञ्ज–काठमाडौँ र रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख छ ।

अहिले रेलमार्गमा यो खण्डमा बाहेक अरू खण्डमा कतै पनि काम नभएको उहाँले बताउनुभयो । अध्ययनको काम पनि एउटा खण्डमा अझै सम्पन्न गर्न बाँकी छ । निजगढदेखि चितवन खण्डमा अध्ययन भइरहेको छ । सो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने हुँदा अरूभन्दा ढिला भएको हो ।

राष्ट्रिय निकुञ्जभित्रबाटै रेलमार्ग निर्माण गर्दा त्यहाँका वन्यजन्तु र वनस्पतिलाई असर पुर्‍याउने भएकाले अहिले निजगढबाट हेटौँडा हुँदै भरतपुर जोड्ने गरी रेलमार्ग अघि बढाउन लागिएको छ । डिपिआर आगामी पुससम्ममा सकिने जानकारी परामर्शदाताले दिएको उहाँले जानकारी दिनुभयो । नेपालमा रेल यातायातमा अहिलेसम्म भारतको जयनगरबाट कुर्थासम्म रेल सञ्चालन बाहेक अरूतिर उल्लेखनीय उपलब्धि हासिल भइसकेको छैन ।

राष्ट्रिय गौरवको सो आयोजनाको सुरु बिन्दु झापाको काँकडभिट्टा र अन्तिम कञ्चनपुरको गड्डाचौकी रहेको छ । पुरानो रेखाङ्कन अनुसार पूर्व–पश्चिम विद्युतीय रेलमार्गको लम्बाई नौ सय ४५ किमी हुने देखिएको थियो । अहिले त्यो परिवर्तन गरेर नयाँमा जाँदा भने लम्बाइ केही बढ्नसक्ने देखिएको छ ।

वि.सं. २०६८ रेल विभाग स्थापना भएपछि त्यसले नै रेलमार्ग निर्माणको काम गरिरहेको छ । रेलको अध्ययन, विकास, सञ्चालनका लागि सङ्घीय संसद्ले गत वर्ष रेल्वेसम्बन्धी ऐन पारित गरेको छ । सरकारले गतवर्ष नेपाल रेल्वे बोर्डको गठन गरेकामा त्यसको कामको जिम्मेवारी विभागलाई दिइएको आगामी वर्षको बजेटमा उल्लेख छ । रासस

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस