२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आरजु प्रहरीले सहयोग गर्ला भनेर बाठो भएर पुग्दा फसिन् : सम्वाद रेकर्ड शर्माको अडियोमा मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको उल्लेख गर्नुभयो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भयो । त्यो अडियो सम्वादमा दाङका सन्देश शर्माले अर्का व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको जिकिर गरेका थिए ।

प्रहरीका अनुसार पीडितहरुले डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि बुझाएका थिए । चैत २०७९ मा आरोपितहरु पक्राउ गरेर अनुसन्धान थालेपछि एकाएक राणा र खाँणको नाम उल्लेख भएको अंश बाहिरियो ।

यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले छानबिन गर्न भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिनुभयो । आफूलाई जोडेर फेक अडियो बदनियतपूर्ण ढंगबाट रेकर्ड गराइएको भन्दै उहाँले २७ वैशाखमा प्रहरीमा उजुरी दिनुभयो । र, अडियोबारे ‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही’ गर्न माग गर्नुभयो ।

त्यो अडियो शरणार्थी प्रकरणका आरोपी सन्देशको भएकोमा अनुसन्धान अधिकृतहरुमा कुनै शंका थिएन । तर पैसा लिएको वा गिरोहलाई प्रत्यक्ष सहयोग गर्ने गरी काम गरेको खुल्ने आधारहरु नभेटिएको भन्दै प्रहरीले बयान समेत लिएन । सन्देश शर्माले पनि ‘उक्त कुराहरु रामकुमार रेग्मीले पहिले नै मलाई भन्नु भनी फोनमा भने अनुसार मैले निजसँग उक्त कुराकानी गरेको हुँ’ भनेर बयान दिए । अधिकृतहरुका अनुसार, भीआईपीको नाम लिँदा पीडितहरुले काम हुन्छ भन्नेमा विश्वास गर्ने भएकाले कतिपय नामहरु मुछेको पाइएकाले पछि खुले थप अनुसन्धान गर्ने गरी बाटो खुला राखेर प्रहरी अघि बढेको थियो ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सकेर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता ग¥यो । पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जना पूर्पक्षका लागि थुनामा पठाइयो । शर्मा पनि थुनामा छन् ।

प्रहरीका अनुसार मुद्दा अदालती परीक्षणमा रहेको र थप प्रमाणहरु पनि भेटिएको छैन । तर पूर्वप्रधानमन्त्री पत्नी एवं कांग्रेस सांसद राणा ब्यूरोमा आफूले दिएको उजुरीमाथि प्रष्ट पारिदिन प्रहरी नेतृत्वलाई आग्रह गर्नुभएको थियो । दोस्रो चरणको अनुसन्धान थाल्न लागेको सूचना बाहिर आउन थालेदेखि राणाले आफ्नो उजुरीबारे स्पष्ट पारेर सहयोग गरिदिन प्रहरी प्रधान कार्यालयलाई आग्रह गर्नुभयो । जानकारहरुका अनुसार, शर्माले आफूलाई सहज हुने बयान दिएपनि प्रहरी प्रधान कार्यालयले नै प्रष्ट पारोस् भन्ने राणाको दवाव थियो ।

शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले शुक्रबार संगठनको प्राथमिकता सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कुवेर कठायतले ‘बाहिर आएका नामहरुमाथि अनुसन्धान भइरहेको’ बताएपछि कांग्रेस सांसद आरजुले आफ्नो निवेदनबारे ताकेता गर्नुभयो ।

स्रोतका अनुसार कांग्रेस सांसद राणा आफ्नो निवेदनबारे प्रष्ट पारिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म समेत पुग्नुभयो । जुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत् प्रहरी प्रधान कार्यालय, नक्सालसम्म पुग्यो ।

लगत्तै प्रहरी महानिरीक्षकको निजी सचिवालयले राणालाई जानकारी पत्र लेख्यो, जसमा राणाको उजुरीका आधारमा परीक्षण गर्दा बाहिर सार्वजनिक आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको उल्लेख छ ।

‘कहाँ र कसबाट ओरिजिनेट भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको’, डीआईजी कुवेर कठायतले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘‘ जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकाले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।’

प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार सांसद राणाले जवाफका लागि ताकेता नगरेको भए यो वक्तव्य आउने थिएन । ‘आवाज आफ्नै हो भन्ने त मुद्दा जाँदा सन्देश शर्मा स्वयम्ले पुष्टि गरिदिइसकेका थिए’, ती अधिकृत भन्नुहुन्छ, ‘अहिले केही न केही जवाफ दिनैपर्ने भएपछि विवरणबारे जानकारी गराइएको हो ।’ प्रकरणमा थप अनुसन्धान कसरी अघि बढ्छ भन्ने चाहिँ प्रहरीले बताएको छैन ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस