२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साउने सोमबारको व्रत आजदेखि सुरु

काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।

यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न सुरु गरिएको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । रासस

 

 

 

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस