२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६६ जिल्लामा ११ सयभन्दा बढीमा डेंगु पुष्टि, एकको मृत्यु

काठमाडौं । डेंगु सङ्क्रमण दर बढेसँगै सरकारले गाडी मर्मत गर्ने वर्कसपका सञ्चालकहरूसँग टायरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा‍‍‍ गोकर्ण दाहालले वर्षायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने हुँदा पानी जम्मा हुने टायर व्यवस्थापन गर्न वर्कसपहरूका सञ्चालकहरूसँग छलफल गरेको जानकारी दिनुभयो ।

पानी परेपछि टायरमा पानी जम्ने र त्यहीँ लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलिने जोखिम बढी भएकाले वर्कसपका सञ्चालकसँग छलफल गरेको बताउनुभयो ।

साथै सरकारले डेंगु सङ्क्रमण नफैलियोस् भनेर महाशाखाले गतवर्ष पाँच सयभन्दा धेरै डेंगु बिरामी रिपोर्टिङ भएका जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूसँग डेंगुको एउटा केस देखिए पनि सचेत रहने विषयमा छलफल गरेको डा= दाहालको भनाइ छ ।

कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा= दाहालका अनुसार जनवरीदेखि हालसम्म ८८ जिल्लाबाट एक हजार ९२ जनामा डेंगु पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै, सबैभन्दा डेंगु सङ्क्रमित उपचार गर्ने अस्पतालका प्रमुखसँग पनि छलफल गरेको डा= दाहालले जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि डेंगु नियन्त्रण गर्न डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न हरेक शुक्रबार १० मिनेट समय निकालेर घर, कार्यालय वरिपरि पानी जम्मा हुने ठाउँ सफा गर्न आग्रह गर्दै आएको छ ।

११ सयभन्दा बढीमा डेंगु पुष्टि

कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा= दाहालका अनुसार जनवरीदेखि हालसम्म ८८ जिल्लाबाट एक हजार ९२ जनामा डेंगु पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमितमध्ये काठमाडौंमा ४६, ललितपुरमा १३ र भक्तपुरमा ३६ जनामा डेंगु पुष्टि भएको छ ।

गतवर्ष असारदेखि मङ्सिरसम्म ७७ वटा जिल्लामा फैलिएको थियो । गतवर्ष नेपालमा डेंगु सङ्क्रमण अहिलेसम्मकै बढी भएको थियो । इडिसिडीका अनुसार गतवर्ष ५४ हजार ७८४ जनामा डेंगुका बिरामी भेटिएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। जसमा बाग्मती प्रदेशमा ७७ र काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशतमा डेंगु पुष्टि भएको थियो ।

डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने विभिन्न अध्ययनले देखाएको छ ।

वि.स. २०६१ सालमा पहिलो पटक डेंगु नेपालमा पुष्टि भएयता बेलाबेलामा महामारीको रूपमा देखिने गर्छ । डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने विभिन्न अध्ययनले देखाएको छ । यो वर्ष पनि डेंगु सङ्क्रमितको सङ्ख्या पनि बिस्तारै उकालो लाग्दै गरेकोले डेंगु फैलिन नदिन सबै सचेत रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह छ ।

डेंगु के हो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु लागेकामध्ये ८० प्रतिशत मानिसमा कुनै पनि लक्षण देखिँदैनन् ।

बिरामीमध्ये १० देखि १५ प्रतिशतलाई सामान्य लक्षण देखिने चालिसे बताउनुहुन्छ । उहाँका अनुसार बिरामीमध्ये पाँच प्रतिशत बिरामीलाई मात्र कडाखालको लक्षण देखिनेगर्छ । कडा लक्षण देखिएकामध्ये ८० प्रतिशत बिरामीलाई सामान्य उपचारपछि निको हुन्छ ।

कडा खालाका लक्षण देखिएकामध्ये २० प्रतिशत अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने डा= चालिसेको भनाइ छ । त्यस्तै २ देखि ३ प्रतिशत बिरामी जटिल अवस्थामा पुगी मृत्यु हुने सम्भावना रहेको डा. चालिसेले बताउनुभयो ।

डेंगुका लक्षण

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुने भएकाले डेंगु भएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ ।

उच्च ज्वरो कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नु डेंगुको उपचार हो ।
चिकित्सकका अनुसार अहिलेसम्म डेंगु रोगको उपचारका लागि औषधि बनेको छैन । लक्षणका आधारमा यसको उपचार हुनेगरेको छ । त्यसैले उच्च ज्वरो कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नु डेंगुको उपचार हो । बिरामीको अवस्था जटिल भएमा तत्काल अस्पताल जान चिकित्सकको सुझाव छ ।

डेंगुबाट कसरी बच्ने

डेंगुबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्ने, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन चिकित्सकको आग्रह छ । यसका साथै घर वरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन चिकित्सकको अनुरोध छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस