२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युद्धस्तरमा नयाँ संसद् भवन निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।

सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउन हिउँदे अधिवेशनदेखि नयाँ संसद् भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले संसद् भवन आधुनिक र सुविधासम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताउनुभयो । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याको समाधान गर्न सरकारको सहयोग हुने बताउनुभयो ।

‘‘आधारभूत कामहरु सकिएको देखेँ । अब झण्डै झण्डै फिनिसिङतिर जाने कामहरु र माथि छाना हाल्ने कामहरु नै मुख्य रुपमा बाँकी भएको देखियो । अहिले समन्वयको आधारमा काम भइराखेको र यसलाई तीव्र गतिमा सम्पन्न गरेर सकेसम्म संसदको हिउँदे अधिवेशन यहीँ गर्न सकियोस् । मिसन भने पनि टार्गेट भने पनि त्यही छ । अहिले जुन गतिमा काम हुन थालेको छ, तपाईहरुको बीचमा जुन समन्वय सुरु भएको छ, शहरी विकास मन्त्रालयको तर्फबाट छिटो काम गर्ने, गुणस्तरीय काम गर्ने, राम्रो काम गर्ने एउटा आकाङ्क्षा तीव्र देखिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मलाई लाग्छ, सचिव, डिजी र तपाई निर्माण व्यवसायी, कर्मचारी र श्रमिक साथीहरुले पनि यो भावनालाई बुझ्नुभएकै छ भन्ने म विश्वास गर्छु । हामी सबैले युद्धस्तरमा काम ग¥यौँ भने टार्गेट समयमा, गुणस्तरीय रुपमा फुलफिल गर्न सकिन्छ । यो देशकै सर्वोच्च प्रतिनिधि संस्थाको भवन र यो आधुनिक र सुविधासम्पन्न भवन बन्दैछ हाम्रो आफ्नै गौरवको कुरा पनि हो । त्यसकारण यसको निर्माणमा हामी कहीँ कतै गलत कम्परमाइज नगरौँ । कामलाई तीव्रताका साथ सम्पन्न गरौँ । त्यसको निम्ति तपाईहरुलाई शुभकामना ।’’

यसैगरी, शहरी विकास मन्त्री सीता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको सङ्ख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले श्रमिकको सङ्ख्या बढाउन आफूले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कहीँ कतै नीतिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘काम गर्ने हातहरु हुनुुुहुन्छ उहाँहरुको सङ्ख्या बढाइदिनुस् अनि रिजल्ट बढाउन सकिन्छ भनेर सुरुदेखि भनेको छु । आज आइपुग्दाखेरी नि सङ्ख्या नबढेको कारणले सङ्ख्या बढाइदिनुभयो भने अलि छिटो काम गर्न सकिन्छ । सङ्ख्या बढाउने कुरामा तपाईंहरुले ध्यान दिनैपर्ने हुन्छ । यस कुरामा सिरियस ध्यान जाओस् ।’’

सरकार, निर्माण व्यवसायी र श्रमिकहरु आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो । सरकारको उद्देश्य पूरा हुनेगरी काम गर्न उहाँले निर्माण व्यवसायीहरुलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस