२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन हो । लगानीकर्ताले सोमबार कार्यालय समयभित्र यस आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार २२ गतेदेखि स्थगित आइपीओ पुनः बिक्रीमा ल्याएको हो । सीडीएसका अनुसार आइतबार साँझ ५ः०७ बजेसम्ममा ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो । यद्यपी धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।

कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ। त्यसैगरी, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस