२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले धौलीगंगा बाँध खोलिदिँदा महाकाली नदी किनारमा कटान सुरु

दार्चुला । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ ।

बाँधका ढोकाहरु खोलिएपछि महाकाली नदीको जलस्तर बढेको छ । मंगलबार बिहान करिब साढे ६ बजेदेखि महाकालीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।

यसअघि आइतबार भारतीय कम्पनी एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै सिल्ट सफाई कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जानकारी गराएको थियो । परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जनाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढेको स्थानीयले बताएका छन् । नदीमा बाढी नै आएपछि नदी छेउछाउमा कटान सुरु भएको छ । नदी छेउछाउ नजान र सतर्कता अपनाउनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस