२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा

इटहरी । केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।

बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।

त्यसै गरी सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–८ स्थित सिसुवाधरमपुरमा रहेको प्रहरी चौकी डुबानमा परेको छ। सिसुवाधरमपुर चौकीमा प्रहरी सहायक निरीक्षक रमेश परियारको नेतृत्वमा छ जना प्रहरी परिचालित थिए। जिप्रका सुनसरीका प्रवक्ता राजकुमार राईले बाढी पसेपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिनुभयो। चौकीमा परिचालित सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित चौकी छाडेको बताइएको छ

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सुनसरी जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबान भएको बताउनुभयो।

यसैबिच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मोरङ र सुनसरीलगायत आसपासका क्षेत्रमा अति भारी वर्षा हुने अनुमान गरेको छ। अति भारी वर्षाको अनुमान गरेपछि स्थानीय बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा अझै बाढीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस