२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रेलवेको विकास र विस्तारमा सरकार प्रतिवद्ध : मन्त्री ज्वाला

बर्दिबास । बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उदघाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतवार उदघाटन गर्नुभयो ।

यस खण्डको निर्माण सम्पन्न भइसकेपछि इरकनका महाप्रवन्धक दीपककुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झालाई गत जेठ १८ गते रेलवे ट्रयाक हस्तान्तरण गरेपछि रेल्वे सेवा विस्तारको प्रवन्ध मिलाइएको थियो । उदघाटनपछि जयनगर–जनकपुर–विजलपुरा ५२ किमी क्षेत्रमा विधिवत रेलवे सेवा सञ्चालन भएको हो ।

मन्त्री ज्वालाले हरियो झण्डा फहराएर संकेत गरेपछि ३१ वर्षपछि विजलपुराबाट जनकपुरका लागि यो रेल गुड्न थालेपछि स्थानीयले ताली पिटेर खुसी प्रकट गरेका थिए । रेल्वे विभागका महाप्रवन्धक रोहितकुमार विसुरालका अनुसार राणाकालदेखि सञ्चालित तत्कालीन न्यारोगेजको यो रेलको रातु खोलाले ट्रयाक र पुल बगाएपछि २०५९ देखि सेवा वन्द रहेको थियो ।

इष्टिम इन्जनमा चल्ने त्यसबेला यो रेललाई नेपाल जनकपुर–जयनगर रेल्वे अर्थात छोटकरीमा एनजेजेआर नामकरण गरिएको थियो । यस रुटमा हाल दैनिक सेवा सञ्चालन गरिने महाप्रवन्धक झाले बताउनुभयो । जनकपुर–कुर्था ३५ किमि रेलमार्गमा भने २०७८ चैत २० गतेदेखि रेल सेवा सञ्चालित भएको थियो ।

यस रुटको सोही वर्षको चैत १८ गते तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाट गर्नुभएको थियो । यात्री सेवाको उदघाटन गर्नुहुँदै मन्त्री ज्वालाले रेलको शुभारम्भसँगै मुलुकले यातायात क्षेत्रमा फड्को मारेको बताउनुभयो । विजलपुरापछि छिटै बर्दिबाससम्म र त्यसपछि रौतहटको निजगढसम्म रेल विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । निजगढ–काठमाडौं रेल सञ्चालनका लागि समेत डीपीआर तयार भइसकेकाले रेलको माध्यमबाट त्रिदेशीय सम्वन्ध सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले भारतको बथनाहादेखि विराटनगरसम्म पनि छिट्टै कार्गो रेल सेवा सञ्चालन हुने जानकारी गराउनुभयो । ‘हामी यो कार्गो रेल सञ्चालनको तयारीमा जुटेका छौ’ उहाँले भन्नुभयो ‘मुलुकको आर्थिक समुन्नति र ब्यापार ब्यवसाय प्रवद्र्धनका लागि रेलवेको महत्वपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तारका लागि सरकार प्रतिवद्ध छ ।’ यसअघि मधेश प्रदेशका कृषिमन्त्री गोविन्द न्यौपानेले यात्री रेल सेवाले यातायातको क्षेत्रमा सुविधा थपे पनि मुलुकको अर्थतन्त्रलाई टेवा दिन कार्गो रेल सञ्चालनका लागि पनि भारतसँग समन्वय र सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

‘दुवै मुलुकका प्रधानमन्त्रीले दुई वर्षअघि उद्घाटन गरेको रेल सेवा आज विजलपुरासम्म पुगेको छ । यसको विकास यात्राले उत्तरोत्तर नयाँ उचाइ लिंदै जाओस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु’ श्रीवास्तवले भन्नुभयो । यसअघि भंगाहा सीतापुरका नगर प्रमुख सञ्जीव साह तथा रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सेवाको विविध पक्षमा प्रकाश पार्दै यसले समाजदेखि मुलुकसम्म पार्ने प्रभावबारे धारणा राख्नुभयो ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस