२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सर्वोच्चको आदेशपछि फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित, स्थानीयबासिन्दाको आन्दोलन भने कायमै

ककनी । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै गाउँपालिकाले काठमाडौंबाट बञ्चरेडाँडा जाने फोहोरका गाडीसँग प्रवेश शुल्क नउठाउने निर्णय गरेको हो ।

फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमवार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको थियो।

ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरे पनि आन्दोलन भने चलिरहेको छ । आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको फोहोर बोकेका गाडी दुई दिनदेखि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् ।

फोहोरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका हुन् । बञ्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण, प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका उनीहरुको माग छ ।

माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयबासिन्दाले बताएका छन् । यसैबीच, सरकारले आज आन्दोलनमा रहेकाहरुसँग छलफल गर्ने तयारी गरेको छ । समय भने तय हुन बाँकी छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा पर्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहोर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । रोचक, खोजमुलक, ब्रेकिङ्ग न्यूज हेर्नका लागि यो च्यानल Subscribe गर्नुहोला । सबै नि:शुल्क छ । अहिले नै गर्नुहोला ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस