२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कम भेटिन थाले सुनौलो तोप चरा

धनगढी । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चराको सङ्ख्या घटेको छ। पछिल्लो समय गरिएको अनुगमनका क्रममा गत वर्षको तुलनामा कम सुनौलो तोप चरा पाइएको हो। केही दिनअगाडि मात्रै निकुञ्जमा यो प्रजातिका चराको अनुगमन गरिएको थियो। अनुगमन गर्दा गत वर्षको तुलनामा सुनौलो तोप चराको सङ्ख्या र गुँडको सङ्ख्या कम पाइएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो।

उहाँका अनुसार यस वर्ष २११ वटा सुनौलो तोप चरा फेला परेका छन्। १२९ वटा सक्रिय र ८९ निष्क्रिय गुँड फेला परेको छ। गत वर्ष यही समयमा गरिएको अनुगमनका क्रममा २४४ वटा सुनौलो तोप चरा अभिलेख गरिएको थियो। यसै गरी १३९ वटा सक्रिय गुँड देखिएको थियो। विश्व संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा नेपालसहित भारतमा पाइने गर्द छन्। बासस्थानमा आएको परिवर्तनका कारण यो प्रजातिका चराको सङ्ख्या घट्ने गरेको बताइन्छ। यसै गरी प्रजनन समयमा काग र चिबे प्रजातिका चराले सुनौलो तोप चराको अण्डा, बच्चा खाइदिने कारणले पनि यो चराको सङ्ख्या घट्ने गरेको डङ्गौराले बताउनुभयो। “सुनौलो तोप चरा घट्नुको विभिन्न कारण रहेको छ,” उहाँले भन्नुभयो, “जसमध्ये आगलागी पनि एउटा हो।” सुनौलो तोप चराको प्रजनन समय वैशाख, जेठ महिना हो। यही बेला बढी आगलागीका घटना हुने गर्दछ। जथाभाबी आगो लाग्दा सुनौलो तोप चरालाई असर पर्ने गरेको छ। यद्यपि, विविध चुनौतीका बाबजुद निकुञ्जमा सुनौलो तोप चरा पाइनु हर्षको विषय रहेको प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताउनुभयो। “चराचुरुङ्गी, वन्यजन्तु संरक्षणका लागि निकुञ्जले सक्दो प्रयास गर्दै आएको छ,” उहाँले भन्नुभयो, “हामीले बासस्थान जोगाएका छौँ। त्यसैले धेरै प्रकारका जनावर पनि राम्रोसँग देखा पर्दै छन्।”

सुनौलो तोप चराको सङ्ख्या, अवस्था र चुनौती पहिल्याउनका लागि बिसिएनको नेतृत्वमा हरेक वर्ष अनुगमन हुने गरेको छ। यो प्रजातिका चरा पाइने शुक्लाफाँटाभित्रको मुख्य पोस्ट आसपास, सिकारी ताल क्षेत्र, भत्केको पोस्ट क्षेत्र, सिङ्गपुर पोस्ट, मोहनपुरफाँटा, झिलमिला, कालीकिच क्षेत्र, लालपानी, दुधिया, करियाफाँटा र बढ्नीखेराको दक्षिणी भागमा अनुगमन गरिएको थियो।

नेपालमा छातीकाले, धर्के, सुनौलो र बया गरेर चार प्रकारका तोप चरा पाइने गरेका छन्। शुक्लाफाँटामा सबैभन्दा पहिलो सन् १९९६ मा चरा विशेषज्ञ डा. हेमसागर बरालले सुनौलो तोप चरा फेला पार्नुभएको थियो। यो निकुञ्जमा सन २०१४ मा ६०, २०१५ मा २०० र २०१६ मा २५० सुनौलो तोप चरा पाइएका थिए। यसै गरी सन् २०१७ मा सबैभन्दा बढी ३००, २०१८ मा २५४, २०१९ मा १७६, २०२० मा २५३, २०२१ मा २४८ र २०२२ मा २४४ सुनौलो तोप चरा अभिलेख गरिएको थियो।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस