२०८१ भाद्र २४ गते सोमवार | 2024 September 9th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुशलको अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए लाई नेपालले ३ विकेटले पराजित गरेको छ ।

यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रमक पारी सहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।

ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रमक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।

उनी पहाद नवाजको बलमा १२.६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् । १३ ओभरमा ९–२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए ।

पाँचौं विकेटको रुपमा गुल्सन झा ११ रन बनाएर मोहम्मद फराजुद्धिनको बलमा विकेटकिपर आर्यन्स शर्माबाट स्टम्पिङ भए । सिमसिम पानी पर्दै गरेको मौसममा ९ रन चाहिने अवस्थामा नेपालका कप्तान रोहित पौडेल ९ रनमा क्याच आउट भए । पवन सरार्फ मोहम्मद फराजुद्धिनको बलमा बोलड भए । कुशल मल्ल र प्रतिश जिशी क्रमशः २ र ८ रनमा अविजित रहे ।

यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद जवादुल्लाहले २ विकेट लिए ।
यसअघि, श्रीलंकाको पी सारा ओभलमा मा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरापमा पारे ।

तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए ।
त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे ।

उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए । ४४ औं ओभरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस