२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुलालाई एक लाख धरौटीमा छाडियो

काठमाडौं । ५० लाख रुपैयाँ दाइजो मागेको भन्दै मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो । काठमाडौंको नक्सालस्थित लिसरा पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुली पक्षले बेहुलाले दाइजो मागेको र नदिएको अवस्थामा विवाह रद्ध गर्ने धम्की दिएको भन्दै प्रहरी बोलाएर पक्राउ गर्न लगाएको थियो ।

बेहुली पक्षका अनुसार विवाह अघि नै बेहुला पक्षले २२ लाख रुपैयाँ बैंकमा जम्मा गर्न लगाएको दावी गरेको थियो। उक्त रकम बेहुलाकी आमा र भाईको बैंक खातामा जम्मा भएको देखिएको थियो। बेहलीका अनुसार इन्गेजमेन्टपछि बेहुला पक्षले आफूहरुसँग पैसा नभएको र विवाह सर्न सक्ने बताएपछि सामाजिक प्रतिष्ठाका लागि उनिहरुले पैसा पठाएका थिए । तर विवाह भइरहँदा बेहुला पक्षले आफ्नो बेइज्जत गरेको र दाइजो मागेको आरोप बेहुलीको रहेको छ ।

यता अनुरागले भने बेहुली पक्षकै आग्रहमा बेहुली र उनको परिवारको सुनचाँदी र कपडा खरिदका लागि २२ लाख रुपैयाँ जम्मा भएको दावी गरेका छन् । उनका अनुसार विवाहका लागि मन्डपमा बसेपछि आफूलाई होचो भएको भन्दै बेहुलीले हेपेको र मान्यजनलाई पनि दुर्व्यवहार गरेपछि दुई जनाबीच विवाद बढेको र आफुलाई बद्नाम गर्न दाइजोको विषय निकालिएको बयान दिएका छन् ।

बेहुली पक्षले विवाहमा खर्च भएको करिब ४४ लाख रुपैयाँ पैसा पनि बेहुला पक्षसँग माग गरेको छ । अमेरिकाको ग्रिनकार्डधारी बेहुला एक महिनाअघि मात्र नेपाल आएका थिए। जेठ ११ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा उनीहरुको इन्गेजमेन्ट भएको थियो । रातको समयमा भइरहेको विवाहमा झडप र हातपात भएपछि तत्काल प्रहरी पुगेको थियो। अदालतले प्रतिवादी बनाइएका बेहुलाका भाई आकाशलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बेहुलाकी ६५ वर्षीया आमालाई पनि प्रतिवादी बनाइएपनि उनी पक्राउ पर्न सकेकी थिइनन् ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस