२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा–बालेनहरुलाई यी खहरे हुन्, हामीजस्तो कोही छैन भन्यौं भने सक्किन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन–हर्कहरुको समूह र नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताउनुभएको छ । शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताउनुभयो । तर यी दुबै प्रवृत्ति गलत हो भन्दै उहाँले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन, त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन’, महामन्त्री थापाले भन्नुभयो, ‘तर सँगसँगै खहरे हुन्, यी (नयाँ पार्टीहरु) केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताउनुभयो । ‘पार्टी सञ्चालनको तरिका हामीले बदल्नै पर्छ । बदलिएको कांग्रेसचाहिँ बलियो कांग्रेस हुन्छ’ उहाँले भन्नुभयो, ‘कांग्रेस कसैले बदल्नुपर्दैन भन्यो भने त्यो पार्टीको हितमा छैन, कांग्रेस सक्कियो सक्कियो भन्यो भने पनि पार्टीको हितमा छैन । पार्टीको हित के मा छ भने कांग्रेस बदलौं, बदलेको कांग्रेसले जनताको विश्वास आर्जन गरौं । त्यही कांग्रेस नै नेपालको विकल्प हो ।’

चुनावमा जाने बेला उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र ठूलो समस्या रहेको भन्दै महामन्त्री थापाले अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राख्नुभयो । अहिले संसारभर जहाँ पनि चुनाव हुँदा नयाँ उमेर समूहका व्यक्ति निर्वाचित भएको भन्दै उहाँले कांग्रेसका नेता कार्यकर्ताले यो कुरा ख्याल गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस