२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टीभित्रको मतभेद देख्दैमा कांग्रेस बिग्रियो, सक्कियो भन्नुहुन्न : सभापति देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप–प्रत्यारोप चल्नु स्वाभाविक रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार एक दिनका लागि स्थगित गरेर सुनसरी पुग्नुभएका देउवाले नेपाली कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप–प्रत्यारोप हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभयो । १५ जनाभन्दा धेरै केन्द्रीय सदस्यहरुसहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर कांग्रेसले उत्कृष्ट काम गरेको दाबी गर्नुभयो ।

ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्न नहुने पनि देउवाको भनाइ थियो । पार्टीभित्रको मतभेदलाई बैठकबाटै टुंग्याएर पार्टीभित्र आन्तरिक एकता भने जरुरी रहेको उहँले बताउनुभयो । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिँदै लोकतन्त्र संस्थागत गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।

देउवाले बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण समेत गर्नुभयो । इनरुवा–९ इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँमा निर्माण गरिएको बीपीको सालिक सम्पन्न भएको चार वर्षपछि अनावरण गरिएको हो । कार्यक्रममा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीभित्रको गुटउपगुट त्यागेर कांग्रेस एकजुट हुन नसकेको गुनासो पोख्नुभएको थियो । उहाँहरुले केन्द्रीय समितिको बैठकको फेसबुक लाइभ गर्ने निर्णयलाई लिएर आम कार्यकर्ता, शुभेच्छुक खुसी भएको बताउनुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस