२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धर्म निरपेक्षताले देश बर्बाद हुनेभयो, यसैले म किरात भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको छु : लिङ्देन

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी हुनुभएको छ ।

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुनेगरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको जानकारी दिनुभयो । उहाँले यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताउनुभयो ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ’ उहाँले भन्नुभयो ‘आजैबाट कार्य प्रारम्भ गरेको छु’ । उहाँले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताउनुभयो ।

लिङ्देनले ०६२–०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताउनुभयो ।

धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले मुलुकको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दूराष्ट्र अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले धर्म निरपेक्षताका कारण देश बर्बाद हुने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको बताउनुभयो । उहाँले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने समेत बताउनुभयो ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढासुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस