२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरानमा डेंगुबाट छ जनाको मृत्यु, महामारीको रुपमा फैलियो

धरान । सुनसरीको धरान उपमहानरपालिकामा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट धरानमा ३ महिला र ३ पुरुष गरी छ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् । समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ ।

डेंगु संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् । आइतबार राति धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको निधन भएको छ । दुबैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताउनुभयो ।

यस अगाडी जेठ ३० गते धरान १७,असार १५ गते धरान ११ साउन २ गते धरान १८ का एक–एक जना महिलाको डेंगुकै कारण मृत्यु भएको थियो । साउन २ गते धरान ११ का अर्का एक पुरुषको डेंगुकै कारण निधन भएको मेहताले बताउनुभयो ।

धरान उपमहानगरपालिकामा ५ हजार बढि सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढि रहेको छ । डेंगु संक्रमित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलमा उपचार गराइरहेका छन् । बीपी प्रतिष्ठानले यस अगाडि कोभिड अस्पताल सञ्‍चालन गरेको स्थानमा डेंगुको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा. डा प्रल्हाद कार्कीले बताउनुभयो । डेंगु रोग एडिस प्रजातिको संक्रमित पोथि लामखुट्टेले टोकेपछि सर्ने रोग हो । डेंगु रोगको चार प्रकारका सेरोटाइप हुने गरेको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका माइक्रोवायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टाईले बताउनुभयो ।

डेंगु सेरोटाइपमा डेंगु १, डेंगु २,डेंगु ३ र डेंगु ४ गरी चार प्रकारमा विभाजन गरिएको डा. भट्टराईले बताउनुभयो । धरानमा अहिले डेंगु १ र डेंगु ३ का सेरोटाइपहरू बढि मात्रामा देखा पर्ने गरेको डा. भट्टराई बताउँनुहुन्छ ।

एडिस प्रजातिको संक्रमित पोथी लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखला लाग्ने, बान्ता आउने, जोर्नी दुख्ने, र शरीर कमजोर हुनेजस्ता लक्षण देखापर्छन्। । संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेस कमी हुने भएकाले बिरामीले पोषिलो र झोल पदार्थ बढि मात्रामा खानुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।

 

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस