२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवास प्रकरणका ५ जनाको लग्जरी अस्पतालमा बास, मीनबहादुर गुरुङ आँखा अप्रेसनको प्लानमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका २२ मध्ये ५ जनाको बास लग्जरी अस्पतालमा छ । उनीहरु निरन्तर अस्पतालमा बसिरहेका छन् । ६९ वर्षीय मीनबहादुर गुरुङ, ७० वर्षीय सुधीर शाह, ८२ वर्षीय धर्मप्रसाद गौतम, ४८ वर्षीय सिद्धिका खेतान र ७७ वर्षीय कलाधर देउजा अस्पतालमा बसेका छन् ।

उनीहरुको अक्सिजन लेभल तलमाथि हुने भन्दै अक्सिजन दिएर राख्न अस्पताल भर्ना गरिएको भनिएको छ । अस्पतालमा रहेकामध्ये देउजा क्यान्सर चौथो स्टेजका बिरामी हुन् । गौतमलाई पनि प्रोस्टेट, दमलगायतको समस्या रहेको बुझिएको छ ।

यस्तै शाह पनि प्रोस्टेटका बिरामी हुन् । प्रेसर, सुगरलगायत समस्या रहेका मीनबहादुरले केही दिनभित्रै आँखाको अप्रेसन गर्दैछन् । यसअघि गुरुङ, शाहसहित ४ जनालाई पहिलोपटक अदालतमा म्याद लिन लैजाँदा उनीहरुलाई स्लाइनसहित उपस्थित गराइएको थियो ।

हालै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेपछि ललिता निवास प्रकरणमा संलग्नहरुलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) लाई बाटो खुलेको थियो । सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई हिरासतमा राख्न थालिएको मंगलबार २९ दिन भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा प्रहरीले निर्णय प्रक्रियामा सहभागी हुनेहरु, बिचौलिया, मोहीलगायतलाई पक्राउ गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस