२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मानिसमा मानवता रित्तियो: मान्छै भित्रै राखेर झ्याल ढोकालाई बाहिरबाट चुकुल लगाइ ७ घरमा आगो लगाए

जुम्ला । घटना हो शुक्रबार करिब राति १ वजेतिर। गाउँले सबै सुतिरहेका थिए। सिंगो गाउँ नै सुनसान देखिन्थ्यो। तर,त्यही मौकामा जुम्लाको गुठिचौर गाउँपालिका–४ डाँडाबाडाका कविदत्त न्यौपानेको घरभित्र राति १ बजेतिर एक्कासि आगो सल्कियो। पछि पुरै घर धूवाँले उकुसमुकुस भयो।

न्यौपानेका १४ वर्षीय कान्छा छोरा दीपेन्द्र घरको दायाँतिरको छेउको कोठामा सुतेका थिए। दीपेन्द्रलाई आफू सुतेको कोठामा गर्मी भएको महसुस भयो। ुएक्कासी ब्युँझिए। ब्युँझिएपछि म सुतेको कोठा भरि पुरै धूवाँ आयो। हेर्दा घरबाहिर रातो आगो बलिरहेको देखे, उनले भने, अर्को कोठामा बुबा आमा सुतेको कोठामा गएर दीपेन्द्रले बुबाआमालाई ब्युँझाए।

कविदत्त न्यौपानेको परिवारहरू बाहिर निस्कन खोज्यो, तर घरबाहिर निस्कन खोज्दा बाहिरको मुल ढोकामा चुकुल लगाइएको थियो । उनीहरुसँग अब घर भित्र आगोमा जलेर मर्नु विकल्प भएन। अब परिवारको सत्यनास हुने आभास भयो। रोए, कराए, चिच्याए। बाहिरबाट चुकुल लगाइएकाले निस्कन उपाय थिएन। घरभित्रबाट आगो नियन्त्रण गर्न सकिने अवस्था नै थिएन ।

घरमा भएका झ्यालमा पनि पुरै फलामको रिलिङ हालिएको थियो। झ्यालबाट कराएर पल्लो घरको भवानी प्रसाद न्यौपाने लगायत छिमेकीलाई गुहार गरे । छिमेकीले घरको चुकुल खोलिदिए । कविदत्तको ३ जनाको परिवार घरबाहिर निस्के, छिमेकीहरु पनि आगो निभाउनमा सक्रियमा जुटे। करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सफल भए उनीहरु। त्यो राति बत्ती बिग्रेकोले बाच्न सफल भयौं, कविदत्तले भने नत्र सबै परिवार घरमै जलेर मर्थ्यौं। आखाँबाट आँसु चुहाउदै उनले भने, आफ्नो सम्पत्तिमा पनि सुख शान्तिले बस्न र बाच्न नपाइने भयो।

कविदत्तको घरको छेउमै दलितबाडा बस्ती जोडिएको छ। दलितबाडाका लालचन्द्र सार्कीको घरमा पनि त्यही राति आगजनी भयो। उनको घरको तल्लो तलाको गोठबाट आगजनी सुरु भएको थियो । कोठाभरि गाईबस्तुका लागि घाँस राखिएकाले धूवाँको मुस्लो नजानिँदो हिसाबले देखिएको थियो । त्यही मुस्लोले परिवारलाई उठायो।लालचन्द्रको परिवार उठिसक्दा आगो फैलिइरहेको थियो। उनले राति घर आगलागी भइरहेको भन्दै चिच्याए । छिमेकीहरू आएर आगो निभाउन थाले। घरमै पानीको धारा भएकाले र छिमेकीहरू छिट्टै आगो नियन्त्रणमा लागेकाले घर बचाउन सकियो। उनले भने, अहिले पनि ढुक्कसँग घरमा सुत्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार शुक्रबार राति गुठिचौर–४ धवलपुरमा २, बाउली गाउँमा १, दलितबाडामा १, माथिल्लो बिगारेमा १ र छिमेकी चन्दननाथ नगरपालिका–१ डुणाखोचामा १ गरेर ७ घरमा आगजनी भएको छ। राति १ बजे सुरु भएर ३ बजेसम्म अज्ञात समूहबाट आगजनी भएको प्रहरीले जनाएको छ ।

त्यसै दिन गुठिचौर–५ धितामा रोकेर राखेको ट्याक्टरमा पनि आगजनी भएको थियो । गुठिचौरमा आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठिचौर गाउँपालिका – ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले बताए। एकै दिन ७ घरमा आगजनी भएपछि स्थिति निकै त्रासपूर्ण भएको पीडित कविदत्तले बताए । घरमा बस्न र सुत्न सकिने अवस्था छैन, उनले भने।

झन्डै एक साताअघि पनि सोही ठाउँमा एक अटोरिक्सामा आगजनी भएको थियो । निरन्तर आगजनीको घटनामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले बताए। आगजनीमा स्थानीयकै संलग्न रहेको प्रहरीले अनुमान गरेको छ । शंकास्पद व्यक्तिको घरमा निगरानी बढाएर अनुसन्धान भइरहेको सूचना अधिकारी जोशीले बताए । गाउँमा भइरहेको आगजनीले त्रास छ। अहिले घटनास्थलमा चौबिसै घण्टा प्रहरी परिचालन गरेको बताए। उनका अनुसार शनिबार रातिदेखि हरेक बस्ती जोड्ने बाटो सिल गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा शनिबार ४ र ५ वडाका गरि १० जनालाई नियन्त्रणमा लिएको थियो,भने आइतबार अभिभावकको जिम्मा लगाएको छ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस