२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैको चासो कोशीको २५/२५ स्परमा

वराहक्षेत्र । वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ ।

भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल संसाधन विभागबाट २५/२५ नम्बरको स्परको अवस्था बुझ्न प्रत्येक बर्खाका वर्षको चार महिना धेरै फोन र म्यासेज आउने गर्छ । अरू स्परभन्दा यो स्परमा पानीको चाप पनि वर्षांैदेखि पर्दै आएको छ । कोशीको तटबन्धमा लामो समयदेखि काम गर्दै आउनुभएका स्थानीय ठेकेदार मोहन मण्डलले भन्नुभयो, “स्पर भत्किए नेपालभन्दा भारततर्फ बढी क्षति हुन्छ । त्यसैले २५/२५ नम्बरको स्परमा जल संसाधनले बढी चासो लिँदै आएको छ ।” स्पर आसपासको क्षेत्रमा बोरामा बालुवा भरेर राखिएको छ । तार जाली, नाइलन जाली, ढुङ्गा, माटो तयारी अवस्थामा राखिएको छ ।

किन ध्यान त्यसैमा ?

हरेक वर्ष कोशीमा पानीको बहाव बढ्दा यस स्परमा पानीको चाप बढी पर्ने गरेको छ । चतराको सात नम्बर स्पर (करम खोला) बाट पुल्ठेगौँडामा पानीको केही भाग ठोक्किएर तेह्रहड्डीको नोजमा ठोक्किएपछि सिधै राजाबासको २५/२५ स्परमा पानीको चाप पर्छ ।

पानीको चाप बढी स्परमा पर्ने भएकाले स्पर अगाडिको भाग गहिरिएर जाने गरेको छ । तटबन्धमै काम गर्दै आउनुभएका स्थानीय गोपाल राईका अनुसार अहिले २६ र २५/५७ स्परको बिच भागमा कटान भएको छ । पानीको चाप नै २५/२५, २५/५७, २६ र २४/७८

स्परमा छ ।

‘रेड स्पर’ भनेर चिनिने नोजलाई कोशी प्रोजेक्टको जल संसाधन विभाग पटनाबाट बर्खामा प्रत्येक दिन २५÷२५ स्परको सोधीखोजी हुने गरेको मण्डल बताउनुहुन्छ । उहाँका अनुसार यो स्परमा पानीको चाप बढी पर्ने हुँदा प्रत्येक वर्ष यो स्पर र तटबन्धलाई बलियो बनाइँदै आएको छ । सबैको चासो यही स्परमा हुने गरेको छ । पानीको चाप बढी पर्ने भएकाले यो स्पर सबैको नजरमा पर्ने गरेको हो । स्पर भत्किए भारतको बिहारमा बढी क्षति हुने भएकाले यो स्परको चर्चा र चासो बढी हुने गरेको छ । यस वर्ष पनि पानीको चाप यही स्परमा बढी परेको छ ।

के हो स्पर ?

कोशी तटबन्धको सुरक्षाका लागि तटबन्धसँग जोडेर तटबन्ध अगाडि रहेको ढुङ्गा, माटो, बालुवा, तार जालीले बनाएको (आग्लो) बान नै हो (नोज) स्पर । सप्तकोशी नदी तटबन्धको सुरक्षाका लागि कोशी ब्यारेजदेखि चतरासम्म १०८ वटा स्पर रहेको मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “ती स्परमा पानीको वेग ठोक्किएर तटबन्धमा पानीको बहाव आउनबाट रोक्ने काम स्परले गर्छ ।”

स्परमा ठोक्किएर पानीबिच कोशीतिर पठाउने काम नै स्परको हो । प्रत्येक वर्ष कोशी प्रोजेक्ट अन्तर्गत भारतको जल संसाधन पटना, वीरपुरले कोशीको तटबन्ध र स्परको मर्मतसम्भार गर्दै आएको छ ।

ठेकेदार मण्डलले भन्नुभयो, “प्रत्येक वर्ष जल संसाधनले ठेक्का लगाएर काम गराउँदै आएको छ । कामको निरीक्षण भने न त स्थानीय सरकारले गर्छ न त प्रदेश र केन्द्रले नै ।” स्पर मजबुत भए मात्र पानीको चाप जति नै भए पनि स्परमै ठोक्किएर बिच कोशीतिर जान्छ ।

स्पर कमजोर भए मात्र पानीको वेगले तटबन्धलाई क्षति पु¥याउने स्थानीय गोपाल राईले बताउनुभयो । स्पर दह्रो हुनु नै तटबन्ध दह्रो हुनु हो । कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्म कोशी प्रोजेक्टले नै तटबन्धको रेखदेखदेखि पानीको सतह नाप्नेसम्मको काम प्रोजेक्ट अन्तर्गत नै हुने गरेको छ । कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्म ४५ किलोमिटर क्षेत्रमा भएको तटबन्धको काम कोशी प्रोजेक्टले नै हेर्ने गरेको मण्डलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस