२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल १ लाख धरौटीमा छुटे

विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ ।

साइकलमा घर फर्किरहेका बेला विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए । गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए ।

साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए । साहले प्रयोग गर्ने साइकल आयुषका भाइ (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरु गएका थिए । सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो । उनी उपचारपछि घर फर्किएका छन् । घटनापछि फरार रहेका आयुष भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए । उनका भाइ भने अझै फरार छन् ।

कारमा सवार भेटवाल दाजुभाइले कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए । प्रहरीले भेटवाल दाजुभाइसँगै कार चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । आयुषका १७ वर्षीय भाइका विरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो । गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटवालले प्रहरीसमक्ष बयान गरेका थिए । उनको कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस