२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो, अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि सतर्कता उच्च

काठमाडौं । अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।

तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।

सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताउनुभएको छ । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गएको वैशाख तेस्रो हप्ता कोभिड–१९ आपतकाल अन्त्यको घोषणा गरेको थियो । विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्यसँगै सङ्क्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटेका थिए । तर डब्ल्यूएचओले सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन आग्रह गरेको थियो ।

चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओले कडा प्रतिबन्धात्मक नियम लागू गरेको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस