२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिटरब्याजीको दवाव सहन नसकेर जिल्ला प्रशासन अगाडि विष सेवन गरेका विनित सुनारको ज्यान गयो

विराटनगर । मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो ।

डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिनुभएको थियो । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । नितेष तिवारी विरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुई छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । साउन ७ गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । छलफलमा सहमति भने भएन ।

सहायक प्रमुख जिल्ला अधिकारी साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए । पहिलो छलफल निष्कर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी साहले पाँच दिन भित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने निर्णय सुनाउनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस