२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना छुटे

काठमाडौं । ललिता निवास प्रकरण पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन्। समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उनीहरूलाई बुधबार छाडिएको हो।

पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको एसएसपी आचार्यले बताउनुभयो । सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो। उनको नाममा झन्डै ८ आना जग्गा छ। उक्त जग्गा फिर्ता गर्न तयार भएपछि उनलाई छाडिएको एसएसपी आचार्यले बताउनुभयो ।

‘उनको नाममा झन्डै ८ आना जग्गा छ। जग्गा उनको नाममा देखिएकाले मात्रै राखिएको थियो। अरू अपराधमा संलग्न देखिन्न। जग्गा फिर्ता गर्छौं भनेर निवेदन दिएकाले छाडेका हौं,’ उनले उहाँले भन्नुभयो ।

दुई जना छुटेपछि अब सिआइबीको हिरासतमा २० जना छन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्की सिआइबीको हिरासतमा छन्।

त्यस्तै काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, सकुलनन्द महर्जन र सञ्जय महर्जन प्रहरी हिरासतमा छन्।

प्रहरीले केशव तुलाधरलाई पनि पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेलगत्तै सिआइबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पनि प्रहरीले पक्राउ गरेको हो। उनीसहित १७ जनाले आफूहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका थिए। उनलाई सिआइबीले असार १२ गते नै पक्राउ गरेको थियो। तर स्टे अर्डर लिएकाले प्रहरीले उनलाई छाडेको थियो।

स्टे अर्डरविरूद्ध सिआइबीले भ्याकेट निवेदन दिएको थियो। त्यसपछि सर्वोच्चले आदेश दिएलगत्तै देउजालाई पक्राउ गरेको हो। नापी विभागका तत्कालीन कर्मचारी तथा अमिन अरूणकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो। सिआइबीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि पक्राउ गरेको थियो। तर सर्वोच्च अदालतले उनलाई हिरासतमा नराखी अनुसन्धान गर्नू भनेपछि छाडिएको थियो। राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ। सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुनः अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस