
काभ्रे । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौं विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।‘
काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रक्रियामा सहभागी भई उर्तिण भएपछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिपसहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो’–विश्वविद्यालय सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काले भन्नुभयो–‘बालेन्द्रसहित ६ जनाको आवेदन परेको थियो ।
दुई जना प्रक्रियामा नै सहभागी हुनुभएन । प्रक्रियामा सहभागी हुनुभएका चार जनाले पिएचडीका लागि अध्ययन गर्ने अवसर पाउनुहुनेछ । बालेन्द्र बाहेक बाँकी फेलोसिपमा हुनुहुन्न ।’ दुई जना डिपार्टमेन्टकै विद्यार्थी हुनुहुन्छ । एक जना बाहिरबाट भर्ना हुनु भएको छ । फ्रेबुअरी महिनाबाट सुरु भएको छनौट प्रक्रिया अगस्टमा सकिएको हो । विश्वविद्यालयले फेलोसिपको पत्र बुझाउन बाँकी भए पनि बालेन्द्र शाह औपचारिक रुपमा विश्वविद्यालयमा भर्नाका लागि योग्य भएको निर्णय गरिएको विभागीय प्रमुख खड्काले जानकारी दिनुभयो ।
बालेन्द्रले पिएचडीको अध्ययन डेढ वर्ष भित्र सक्नु पर्नेछ । ५ वटा कोर्स ३ वटा सेमेस्टरमा सक्नु पर्ने विश्वविद्यालयको नियम छ । प्रति हप्ता बालेन्द्रले कम्तीमा ९ घण्टा विश्वविद्यालयमा उपस्थित भएर कक्षा लिनु पर्नेछ । रिसर्च बाहेकका उक्त विषयहरु अध्ययनका लागि बालेन्द्रले समय व्यवस्थापन गर्ने गरी भर्ना हुन सहमत भएको विश्वविद्यालयले जानकारी दिएको छ ।