२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कामदार भिसामा नेपाल आए भारतीय बाहेक ३ हजार ६६२ विदेशी

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएको आँकडामा देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् ।

विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन । नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८/७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७/७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

गत आर्थिक वर्ष २०७९/८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो । आर्थिक वर्ष २०७१/७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस