२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

सरकारले विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई अब हामी कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौं ।’ अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उहाँले भन्नुभयो, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस