२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण: थप दुई जना डाक्टर पक्राउ

काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले थप दुई जना डाक्टरलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार थप दुई जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

महोत्तरी पिपरा–८ का रञ्जितकुमार यादव र कोहल्बी–८ का अमित चौधरी पक्राउ परेका हुन्। यादव प्राइभेट क्लिनिकमा काम गर्थे भने अमित टिचिङ अस्पतालमा कार्यरत थिए। यसअघि बिहीबार नै काठमाडौंको मण्डिखाटारबाट सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो। उनीपनि डाक्टर बनेर बिराटनगरमा मेडिकल कलेज चलाएका व्यक्ति हुन् ।

सिआइबीले फक्सट्रट चार्सी अपरेशन सञ्चालन गरी तीन जनालाई पक्राउ गरेको हो। यो अभियान देशभर चलिरहेको एसपी अधिकारीले बताउनुभयो । चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलमा सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको भन्ने सूचना नेपाल मेडिकल काउन्सिलबाट सिआइबीले पाएको थियो।

उक्त सूचना पाएपछि सिआइबीले अनुसन्धान गरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीमा सम्पर्क गरेको थियो। तर सानो ठिमीको रेकर्डमा सुनिल शर्माको आइएस्सीको रेकर्ड नभेटिएपछि सिआइबीले उनलाई पक्राउ गरेको हो। अन्य चिकित्सकको हकमा पनि त्यसरी नै किर्ते गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस