२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस र जसपाले अर्को सरकार बनाउने कसरत थाले

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कसरत सुरु गरेको खुल्न आएको छ । आजै जसपाले पत्रकार सम्मेलन गरेर सरकार छोड्ने घोषणा गर्न लागेको छ । गौर हत्याकाण्ड लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफ्नो धारणा सार्बजनिक गर्न उसले दिउँसो २ बजे पत्रकार सम्मलेन बोलाएको हो । यसैगरी नेपाली कांग्रेसले सरकार लगातार कांग्रेसका सांसदहरु मात्र पक्रिन लागि परेको भन्दै नयाँ रणनीति बनाउँन आकस्मिक संसदीय दलको बैठक बस्दैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गौर हत्याकाण्डका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिवद्दता जनाएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि पोखिसक्नुभएको छ । आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरेपनि मुख्यतः उपेन्द्र यादव सशंकित बन्नुभएको छ ।

यता नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बढ्दैछ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । लेखकका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । सदनबाट सरकारले जनताको मुद्धा भुलेर अन्यत्र मोडिएको आरोप लगाउँदै विस्तारै सरकारबाट बाहिरिने कांग्रेसको रणनीति बनेको छ । उच्च तहका एक नेताले भन्नुभयो, अहिलेको सरकारले नेपाली कांग्रेसलाई कुनै फाइदा गरेन, केहीलाई मन्त्रीको जागिर दिनुभन्दा थप केही भएन । यसले गर्दा यो सरकार छोड्नु नै उपयुक्त भएकोमा कांग्रेसको शीर्ष तह लगभग निचोडमा पुगिसकेको छ ।

 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस