२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रिपरिषद पुनर्गठन हुँदै, माओवादीका कसको जाँदैछ मन्त्री पद ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्रीको पद जाने निश्चित भएको छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने पक्का छ । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो ।

माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुनुहुन्छ ।जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सक्नुभएन ।

जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी रहेको बालुवाटार श्रोतले जनाएको छ ।

मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट हुनुहुन्न । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेको चर्चा चल्ने गरेको छ । उहाँमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोप समेत माओवादीभित्रबाटै लागेको छ । कर्मचारी वृत्तबाटै पटक–पटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा हुनुहुन्छ । तर, हटाउने भनिएकै दिन पत्नीको निधन भएकाले तत्कालका लागि उहाँको पद जोगिएको थियो । किराँतीले पनि काम भन्दा हल्ला बढी गरेको निश्कर्ष बालुवाटार सचिवालयको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस