२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्कुल पढ्दा चिट चोरेका थिए भन्ने सम्मका आरोप लगाएर प्रधानमन्त्री थुन्न चाहान्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गर्नुभएको छ। गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन। धेरै नहौसिन भनेर मैले भनेको छु। सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ। यो भन्दा नांगो नाच के हुन सक्छ ?’ अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुरु गरेको बताउनुभयो । उहाँले यो शुरुवातमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो। यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।’ स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उहाँले बताउनु भयो ।

 

 

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस