२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महत्वपूर्ण मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्न लागेकी अनितादेवी साह को हुन् ?

काठमाडौं । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने तय भएको छ । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।’

जनमत पार्टीको सचिवसमेत रहनुभएकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले बताउनुभयो । ‘पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ’, उहाँले भन्नुभयो, ‘पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।’

साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उहाँ किसान आन्दोलनको अग्रमोर्चामा सहभागी हुनुहुन्थ्यो । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसक्नुभएकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

यसअघि उहाँले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिनुभएको थियो । उहाँ जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्षसमेत बन्नुभयो । विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिनुभएकी उहाँले जनसंख्या विषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गर्नुभएको उहाँ एक दशक महिला अधिकार र समाजसेवासम्बन्धित काममा आबद्ध हुनुहुन्थ्यो ।

 

 

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस