२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साउने सोमबारमा पशुपतिमा भीड : आज यी कार्य गरे सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने

काठमाडौं । आज साउने सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

गतेका हिसाबले आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीले जानकारी दिनुभयो । ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्’, उहाँले भन्नुभयो । उहाँका अनुसार साउन महिना जनैपूर्णिमाको दिन मात्र सकिन्छ । यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ । ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परे’, उहाँले भन्नुभयो । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् । त्यसअघि भदौ ४ गते नागपञ्चमीको दिन पनि सोमबार परेको छ । नागपञ्चमीको दिन सोमबार पर्नु झनै शुभ मानिने डा. शास्त्री बताउँनुहुन्छ ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस