२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब केही बेरमा कक्षा १२ को नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिनुभयो ।

उहाँले भन्नु्भयो,‘ बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।’ देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस