२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवासमा माधव, शरणार्थीमा देउवा र गौर काण्डमा उपेन्द्र झस्काएर बलियो बन्ने नयाँ प्रचण्ड पथ

काठमाडौं । पछिल्लो समय नेपाल सुन तस्करहरुको खेलमैदान भएको पुष्टि हुँदै आएको छ । विभिन्न घटनाले नेपाल विश्वभर हुने सुन तस्करीको ट्रान्जिट पोइन्ट हो भन्ने देखाउँछ । यसअघि विद्युतीय चुरोटमा नेपाल भित्रिएको तस्करीको सुनमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको प्रहरीले नै खुलाएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उपाध्यक्षलाई जोगाउन खोजेको आशंका आम नागरिकले गरिरहेका छन् । तस्करीको सुनमा कनेक्शन देखिएपनि प्रहरीलाई अनुशन्धान नै गर्न नदिइनु आफ्ना नेता जोगाउने प्रपञ्च भइरहेको भन्दै प्रधानमन्त्रीको सर्वत्र आलोचना भइरहेको छ ।

सुन प्रकरणबारे छानबिन गर्न पार्टीभित्रैबाट नेताहरूले दबाब बढाएका बेला प्रधानमन्त्री भने मौन हुनुहुन्छ । सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा पार्टीकै नेताहरूको पनि नाम जोडिएपछि सत्यतथ्य छानबिन गर्नुपर्ने माओवादीका नेताहरुको माग छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा महरा र उहाँका छोरा राहुलको संलग्नतासहितको अनुसन्धान प्रतिवेदन सीआईबीले पेश गरेको थियो । तर, महरा बाबुछोराले आरोप खारेज गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले भने आफूनिकटका व्यक्तिलाई जोगाउन लागेको भन्ने कुरामा सत्यता नभएको दाबी गर्दै आएको छ । ‘प्रधानमन्त्री आफैंले अहिले सुशासनको कुरालाई प्राथामिकता दिएर छानबिन प्रक्रिया अगाडि बढाउँनुभएको छ । छानबिन नगर्न उहाँबाट दबाब हुन्छ जस्तो लाग्दैन । भएको पनि छैन’ एक नेताले बताउनुभयो ।

तर, व्यवहाहर हेर्दा त्यस्तो देखिदैन । नेताहरूले महरामाथि प्रश्न उठेपछि प्रष्ट पार्नुपर्ने दबाब बढाइरहेपनि प्रधानमन्त्रीले दुई साताअघि बसेको बैठकमा यसलाई एजेण्डा बनाउन मान्नुभएन । नेताहरूले प्रश्न उठाएपनि प्रचण्डले जवाफ नै दिनुभएन । महराजस्तै प्रकरणमा प्रश्न उठेका उपमहासचिव बर्षमान पुनले पार्टी बैठकलाई प्रष्टीकरण दिनुभयो । तर महरा चुपचाप रहनुभयो ।

माओवादी भित्र नै आफू निकटलाई मात्र प्रधानमन्त्री जोगाउन र अरुलाई फसाउन खोजिरहेको आशंका हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनभित्र पनि आशंका गरिएको छ । महरामाथि छानबिन अघि बढाउन गठबन्धनका नेताहरुले दबाब दिँदै आउनुभएको छ । सीआईबीले प्रमाण भेट्दासमेत महरालाई अनुसन्धानमा नल्याएपछि गठबन्धनमा आबद्ध दलका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीमाथि नै प्रश्न गर्दै आउनुभएको छ । कांग्रेसका अधिकांश सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको कदममाथि प्रश्न उठाउँदै विकल्प खोज्नुपर्नेसमेत सभापति शेरबहादुर देउवालाई सुझाव दिइसकेका छन् ।

शरणार्थी प्रकरण, पार्टीका सांसद सुनिल शर्मा पक्राउ लगायतका विषयले कांग्रेस पनि झस्किएको छ । प्रधानमन्त्रीमाथि शरणार्थी प्रकरणमा देउवालाई दबाबमा राख्ने, ललिता निवास प्रकरणमा माधव नेपाल र गौर प्रकरणमा उपेन्द्र यादवलाई दबाबमा राखेर आफू बलियो हुन खोजेको गठबन्धनका दलहरुका नेताहरुको आरोप छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस