२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि सहमति जुटेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध खुलाउन बोलाएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बसेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सहमति जुट्न नसकेको बताउनुभयो । “आजको बैठक निष्कर्षविहीन भएको छ। सहमति नजिक पुगेका छौं, भोलिको बैठकले टुङ्ग्याउँछ,” लामिछानेले भन्नुभयो ।

संसद् खुलाउने विषयमा गम्भीर छलफल भए पनि सहमतिमा पुग्न नसकिएको उहाँको भनाइ थियो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन नसकेका कारण पनि सहमति जुट्न नसकेको लामिछानेले बताउनुभयो । साउन ३ गते हङकङबाट आएको साढे ६० किलो सुन त्रिभुवन विमानस्थलबाट बरामद गरिएको थियो। त्यसको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन एमालेले माग गरिरहेको छ। सत्तारूढ दलहरूले भने छानबिन समिति आवश्यक नभएको निचोड निकालेका छन्।

यस विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। माग पूरा नहुँदासम्म संसद् चल्न नदिने एमालेको अडान छ। यसअघि सभामुख देवराज घिमिरले बोलाएको प्रमुख सचेतकको बैठक पनि निष्कर्षविहीन भएको थियो। त्यसमा पनि दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेको थिएन।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस