२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै जीवित भाइको विदेश गएका बखत मृत्यु दर्ता बनाई जग्गा नामसारी

Pakrau arrested

काठमाडौं । रोजगारीको लागि भारतमा रहेका भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक जनालाई प्रहरीले रूपन्देहीमा पक्राउ गरेर अनुशन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार झुटो विवरण दिएर जीवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिने तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कँडेललाई प्रहरीले पक्राउ गरेर अनुशन्धान गरिरहेको हो ।

कँडेलले भाइ बेदुराम कँडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए। कँडेलले भाइ बेदुराम अविवाहित तथा बौद्धिक अपाङ्गता रहेकोले जीवित छँदा आफैंले पालनपोषण गरेको र सोही क्रममा २०७८ साल भदौ १५ गते रूपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजकिरिया समेत आफैंले गरिदिएको भन्दै मृत्यु दर्ताका लागि वडा कार्यालयमा निवेदन दिएका थिए।

कँडेलले दिएको निवेदनमा चार जना व्यक्तिबाट सही सनाखत समेत गरिदिएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउनुभएको देखिन्छ । वडा सचिव ज्ञवालीले ईन्द्रकुमारले चार जना स्थानीयको सक्कल नागरिकतासहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको बताउनुभयो ।

वडा सचिव ज्ञवालीका अनुसार कँडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सही सनाखत गरिदिएका छन्। उक्त निवेदनमा लामो समयदेखि दीर्घरोगी रहेका बेदुरामको २०७८ साल भदौ १५ गते सैनामैना रानीबगियामा कालगतिले मृत्यु भएको व्यहोरा ठीक साँचो हो, जीवित रहँदा पालनपोषण र स्याहारसुसार दाजु ईन्द्रकुमारले गरेको र मृत्युपश्चात काजकिरिया समेत ईन्द्रकुमारले नै गरेको कुरा ठीक साँचो हो भनी उनीहरूले सही सनाखत गरिदिएका छन्।

मृतक बेदुराम अविवाहित रहेको र ईन्द्रकुमार बाहेक उनको अरू संरक्षक कोही नभएकोले मृत्यु दर्ता गरी दिन सिफारिस गर्दै आफूहरूले गरेको सिफारिस पछि फरक परे वा गलत ठहरे प्रचलित कानून अनुसार सजायको भागीदार बन्ने भन्दै सही सनाखत गरिदिएका छन्। रोजगारीका लागि भारतमा रहनुभएका बेदुराम दुई वर्षपछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाउनुभयो । बेदुरामले आफू जीवित रहेको भन्दै वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो।

स्थानीयका अनुसार तिलोत्तमा–४ मा स्थायी ठेगाना रहे पनि लामो समयदेखि सैनामैनामा बस्दै आएका ईन्द्रकुमारले सगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता गराएको प्रारम्भिक अनुशन्धानमा देखिन्छ । वडा कार्यालयका अनुसार भाइको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीका लागि पनि पाँच जनाबाट सही सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए। वडा सचिव ज्ञवालीले निवेदकले सही सनाखत गर्नेहरूको सक्कल नागरिकतासहित निवेदन ल्याएपछि मृत्यु दर्ता र जग्गा नामसारीको सिफारिस गरिदिएको बताउनुभयो । अहिले भाइ बेदुरामले आफू जीवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गरिदिने ईन्द्रकुमारलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । ईन्द्रकुमारले दिएका झुटो विवरणमा सही सनाखत गरिदिने व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको अर्यालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस