२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विमानस्थलबाट सुन तस्करी प्रकरणमा आज सभामुखले बल प्रयोग गरेरै अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बोलाइएको छ। विमानस्थलबाट क्वीटल (पगालेपश्चात ६० किलो ७ सय १६ ग्राम) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको छ।

एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले बैठक पटक–पटक सार्नुभएको छ । बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गर्नुभएको थियो । तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गर्दै आउनुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले‍को संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्‍याकजुरुक्क सबै उठे‍र हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’

यता संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका व्यक्तिहरु हाल पूर्पक्षका लागि थुनामा छन्। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने उल्लेख गरिएको छ ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ। यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थितसदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची छ।

स्रोतका अनुसार छानबिन समिति बनाउँन सरकार तयार नभएकाले सभामुखले नै सदनबाट रुलिङ गर्ने सम्भावना रहेको छ । एमालेले होहल्ला गर्ने, सभामुखले होहल्लाकैबीचमा सरकारलाई रुलिङ गर्ने तयारी छ । सदनको रुलिङ सरकारले नमानेको खण्डमा संसदीय समिति सभामुखले घोषणा गर्ने गरीसमेत अघि बढ्ने सभामुखको तयारी छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस