२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अबिबाहित युवतीको अस्पतालबाट गायब शिशु फेला, डाक्टरले रकममा बेचेको खुलासा

काठमाडौं । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएकी शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ। मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो। ‘हामीले शिशु फेला पारेका छौं’, मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भन्नुभयो, ‘पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई दिएको खुलेको छ। कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी छ।’

प्रहरीका अनुसार मोरङको कहटरी २ की दिलमाया राजवंशीलाई डा. कर्णले शिशु दिएको खुलेको प्रहरी भनाइ छ। ‘आजदेखि अस्पतालमा रहेका डाक्टर डिस्चार्ज भएर प्रहरीमा ल्याएका छौं। अनुसन्धान सुरू भएको छ।’ यो प्रकरणमा प्रहरीले शिशुकी आमाको प्रेमी र चिकित्सकलाई शुक्रबार पक्रेको थियो।

गएको असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी एक युवतीलाई प्रसूति व्यथाले सतायो। अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन्। गोविन्दले उनलाई विराटनगरस्थित ग्रीनक्रस अस्पताल ल्याइपुर्‍याए। उनलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले चेकजाँच गरे। र, व्यथा अझै बढ्ने औषधि दिए। त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन्। भोलिपल्ट अर्थात् असार १४ मा अस्पतालले उनलाई डिस्चार्ज गर्यो। जब अस्पतालले घर जाने अनुमति दियो, फूलकुमारीको साथमा शिशु थिइनन्।

उनले बच्चा खै भनेर सोधिन्। उनका प्रेमी गोविन्दले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्। ‘उहाँले मलाई बच्चा बिना नै ट्याम्पोमा राखेर इटहरी पुर्‍याउनु भयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो। बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो’, फूलकुमारीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनु भएन।’

आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीकोमा पुगिन्। प्रहरीले उनले दिएको जाहेरी अनुसार अनुसन्धान थाल्यो। अन्ततः शुक्रबार प्रेमी र प्रसूति गराउने चिकित्सकलाई पक्राउ गर्यो।

प्रहरीले डा. तपेश्वरलाल कर्ण र प्रेमी गोविन्द राईलाई पक्राउ गरेको हो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कर्ण कोशी अस्पतालका पूर्व प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) हुन्। पक्राउ परेका २७ वर्षे राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन्।

‘असार १३ मा नर्मल रूपमा २६ वर्षीया अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएको पाइएको छ’, मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भन्नुभयो, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरिएको थियो। मंगलबार शिशु पनि फेला पार्यौं।’ मोरङ प्रहरीले ती युवतीको वास्तविक नाम खुलाउन चाहेन । तर, अस्पताल भर्ना हुने बेलामा फूलकुमारी नाम राखेर अस्पताल भर्ना गराइएको खुलेको छ । अविवाहित व्यक्तिबाट जन्मेको भन्दै शिशुको व्यवस्थापन गर्ने जिम्मा डा. कर्णले लिएको प्रहरी भनाइ छ। उनले प्रेमी राई र बच्चा लिने दम्पतीबाट नै मोटो रकम लिएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस