२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो ।

त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिनुभयो । “भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुल वृद्धि पो गरेको हो,” उहाँले भन्नुभयो, “नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुपर्ने कसले हो ?”

कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको थियो । उक्त महसुुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ ।

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुन स्वाभाविक मूल्य हो ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस