२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

घट्नुको सट्टा मेलम्चीको बाढीले झनै उग्र रुप लियो

काठमाडौं । मेलम्चीको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर उच्च जोखिममा परेका छन्। लगातारको वर्षाका कारण शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि ग्याल्थोममा भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको वडाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो ।

मेलम्चीमा बाढी आएपछि ग्याल्थोम बस्तीका स्थानीयहरू टहरामा सर्न थालेका छन्। यसअघि ०७८ मा मेलम्चीमा आएको बाढी बस्तीमा पसेपछि सरकारले सुरक्षित स्थानमा टहरा बनाइदिएको थियो। टहरा बनाए पनि ३०–३५ परिवार बस्तीमै बसिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

ग्यालथुमकै सरस्वती माध्यमिक विद्यालय पनि बाढीको उच्च जोखिममा छ। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो। अहिले ठूलो भवनको पिलरले बाढी थेगिरहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्।

विद्यालयकै टिएलसी भवन खस्नै लागेको अवस्थामा छ। बाढीको जोखिममा परेपछि आज विद्यालय बन्द गरिएको छ। विद्यालयमा भएका डेस्क, बेन्चलगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका छन्। पानी नरोकिएकाले मेलम्चीको बहाब पनि कम नभएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस