२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

विद्या भण्डारीले एमालेमा सक्रिय राजनीति गर्न चाहे सधैं वेलकम छ : ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने बताउनुभएको छ । भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै उहाँले आउन चाहे सधैं स्वागत गर्ने बताउनुभयो । नेकपा एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा उहाँले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताउनुभयो । ‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं’, ओलीले भन्नुभयो, ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आउँछु त भन्नुपर्‍यो, सधैं वेलकम छ ।’

ओलीले पार्टीका नेताले भण्डारीलाई भेटेका विषयमा अनावश्यक हल्ला चलाउन नहुने बताउनुभयो । भण्डारी पार्टीको पूर्वउपाध्यक्ष समेत भएका कारण भेट्न मिल्ने बताउनुभयो । पूर्वराष्ट्रपति हुनुभएकी भण्डारी पार्टीको आदरणीय व्यक्ति पनि रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’

एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा सत्तारुढ दलहरुले फोहरी खेल खेलेको दाबी गर्नुभयो । प्रदेशमा सत्तारुढ गठबन्धन संविधान विरोधी भएको बताउँदै उहाँले भन्नुभयो, ‘यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दापनि संविधान मिच्यो भनेर विरोध गर्नेहरु अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भने जस्तो गर्ने प्रवृत्ति देखिएको छ।’

 

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस