२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

९ वटा संसदीय समितिको सभापति सर्वसम्मत, उद्योगमा निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने हुनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि भोलि सोमबार निर्वाचन राखिएको छ । त्यसको अघिल्लो दिन विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको छ । ‘भोलि ३ बजे सबै समितिको बैठक राखिएको छ । एउटा मात्र उम्मेदवारी परेकाहरूको हकमा त्यही सर्वसम्मत निर्वाचित घोषणा हुन्छ’, संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको मात्र उम्मेदवारी परेको छ । एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिनुभएको छ । आइतबार अन्तिम समयमा माओवादी र राप्रपाको सहमतिमा सिंह उम्मेदवार भएकाले अरुले उम्मेदवारी दिनुभएन ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाएको थियो ।

भागवण्डामा नपरेको रास्वपाले अरू समितिमा उम्मेदवार बनाउन सक्ने अवस्था थिएन । किनकी सभापतिमा उम्मेदवार बन्न एक जना प्रस्तावक र एक जना समर्थक आवश्यक हुन्छ। अन्य समितिमा रास्वपाका दुई सांसद मात्र छन् । यो समितिमा तीन सांसद हुनुहुन्छ, जसमध्ये पराजुली उम्मेदवार बन्दा उपसभापति डिपी अर्याल प्रस्तावक र असिम शाह समर्थक बन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस